सुमीमा रहेका भारतीय नागरिकको उद्धारमा निरन्तर सहयोग मागे भारतीय प्रधानमन्त्री मोदी
डेटूडे खबर समाचारदाता
२३ फाल्गुण २०७८
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सोमबार कुराकानी गरेका छन् । भारतीय समाचार संस्था एनएनआईका अनुसार सोमबार मोदी र जेलेन्स्कीबीच करिब ३५ मिनेट टेलिफोन कुराकानी भएको हो ।
जेलेन्स्कीसँग मोदीले सुमीमा रहेका भारतीय नागरिकको उद्धारमा निरन्तर सहयोग मागेको बताइएको छ । त्यस्तै जारी संघर्षका बीच रुस र युक्रेनबीच भइरहेको संवादप्रति पनि मोदीले प्रशंसा गरेका छन् ।
फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै देशका राष्ट्रपतिसँग दुई पटक कुराकानी गरिसकेका छन् । फेब्रुअरी २६ मा मोदीले जेलेन्स्कीलाई टेलिफोन गरी जारी संघर्षका बारेमा जानकारी लिएका थिए । त्यस्तै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा भोटिङमा भारत अनुपस्थित भएपछि जेलेन्स्कीले मोदीलाई फोन गरेर राजनीतिक सहयोग मागेका थिए । मोदीले पुटिनसँग भने फेब्रुअरी २४ र मार्च २ मा कुराकानी गरेका थिए ।
शनिबार रुसले दुई सहरमा अस्थायी युद्धविराम घोषणा गरे पनि पालना भएको छ । युद्धविराम घोषणापछि पनि रुसले युक्रेनमा लगातार भीषण आक्रमण गरिरहेको छ ।