युक्रेनको आकाश हवाई निषेधित क्षेत्र बनाउन युक्रेनी राष्ट्रपतिको आग्रह
डेटूडे खबर डेस्क
३० फाल्गुण २०७८
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो गठबन्धनलाई युक्रेनको आकाश हवाई निषेधित क्षेत्र बनाउन पुनः आग्रह गरेका छन्। एक भिडियो सन्देशमा युक्रेनी आकाश हवाई निषेधित क्षेत्र नबनाए रूसी रकेट नेटो सहयोगी देशमा समेत खस्ने भन्दै जेलेन्स्कीले हवाई निषेधित क्षेत्रका लागि पुनः आग्रह गरेका हुन्।
युक्रेनको यभोरिभ सैन्य प्रशिक्षण केन्द्रमा रुसले मिसाइल आक्रमण गरेपछि जेलेन्स्कीको यस्तो आग्रह गरेका हुन्। उक्त आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। १३४ जना घाइते भएका छन्। प्रशिक्षण केन्द्र नेटो सदस्य राष्ट्र पोल्याण्डबाट २५ किलोमिटर दूरीमा छ।
युक्रेनलाई हवाई निषेधित क्षेत्र घोषणा गर्नासाथ नेटो सेनाले रुसविरुद्ध युद्ध सुरु गर्नुपर्ने भन्दै युक्रेनको माग नेटो सदस्यहरुले अस्वीकार गर्दै आएका छन्।
यसैबीच युक्रेनमा एक अमेरिकी पत्रकार मारिएका छन्। राजधानी किभबाहिरको इरपिनमा गोली लागेर अमेरिकी पत्रकार ब्रेन्ट रिनोडको मृत्यु भएको हो।
किभका प्रहरी प्रमुख आन्द्रेई नेबितोभले रुसी सेनाको गोली लागेर पत्रकार रिनोडको मृत्यु भएको बताएका छन्। घटनामा अन्य दुई पत्रकार घाइते भएका छन्। युक्रेनमा युद्धको समाचार संकलन गरिरहेका कुनै विदेशी पत्रकारको मृत्यु भएको यो पहिलो घटना हो।