मिथिला क्षेत्रमा आज ‘जुडशीतल’मधेश प्रदेशमा सार्वजनिक बिदा

डेटूडे खबर डेस्क
०२ वैशाख २०७९
जनपुरधाम मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदै छ ।
मिथिला क्षेत्रमा नयाँ वर्षको दिन ‘सतुवाइन’ र भोलिपल्ट ‘जुडशीतल’ मनाइन्छ । बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ ।
नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् ।
नयाँ वर्षका दिन चना, जाै, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । यसलाई बोलीचालीमा ‘सतुवाइन’ भनिन्छ ।
त्यसैगरी दोस्रो दिन आज घरपरिवारका जेठो व्यक्तिले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता बताउँछन् ।
जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले जुडशीतलको अवसरमा सार्वजनिक बिदा दिएको हो ।