निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

  डेटूडे खबर डेस्क
  १० वैशाख २०७९

                            

जनकपुरधाम । आउदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।

दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिए ।

भारतको मधुवनी जिल्ला स्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडीबाट सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ ।

खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती अझ बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडीदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ कवाडीले बताए ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ कवाडीले बताए।

बैठकमा सिरहातर्फको नेतृत्व प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेको थिए ।

बैठकमा प्रजिअ कवाडी सहित धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट