श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी, सेनाद्वारा बल प्रयोग
डेटूडे खबर डेस्क
०७ श्रावण २०७९
एजेन्सी। श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी छ। सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन्। सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन्।
दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ। प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन्। पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको शपथ लिएका थिए।
६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन्। उनले प्रदर्शनकारी विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विरोध प्रदर्शन केही मत्थर भएको छ । राष्ट्रपतिलाई देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका दिनेबारे प्रदर्शनकारीमा दुई मत देखिएको छ ।