पाकिस्तानमा बाढीले गर्दा तीन करोड ३० लाख जना प्रभावित

  डेटूडे खबर डेस्क
  १३ भदौ २०७९

                            

एजेन्सी

पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मध्य जुनदेखि सुरु भएको मनसुनपछिका वर्षाजन्य घटनामा परी पाकिस्तानमा ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने सो प्रान्तमा मात्रै एक करोड ४५ लाख मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरोका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने उद्धारकर्ताहरुले जनाएका छन् । यस वर्षको प्राकृतिक प्रकोप तीस वर्ष यताकै सबैभन्दा बढी घातक देखिएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरोलगायतका घटना भएको प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् ।

सरकारले गत बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रीत गरिने जनाएको छ । बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट