एजेन्सी । अफ्रिकामा प्रति एक लाखमा ११ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।
यो वार्षिक रुपमा लिइएको तथ्यांक हो। विश्वव्यापी रुपमा मापन गरिएको प्रति एक लाखमा नौ जनाले आत्महत्या गर्ने गरेको उच्च दरभन्दा पनि बढी अफ्रिकामा ११ जना रहेको छ।
यहाँ मानसिक रोग भएका नागरिकहरूको संख्या प्रतिदिन बढ्दै गएको तथा आत्महत्या रोक्ने उपायहरूको अवलम्बन गर्ने काम नभएका कारण बर्सेनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो। अफ्रिकामा अहिले ११ करोड ६० लाख नागरिकलाई मानसिक रोग रहेको छ। सन् १९९० मा मानसिक रोग भएका मानिसहरूको संख्या ५ करोड ३० लाख मात्र रहेकामा अहिले यो संख्या बढेको हो।
विश्व स्वास्थ्य संगठनले आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
मानिसहरूको उपचार तथा उनीहरूका समस्याहरूको सहजीकरण गरिने भएको छ। यहाँ सामाजिक सञ्जालहरूबाट यी मानिससम्म यो अभियान पुर्याइने भएको हो। यही अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवसका दिनबाट यो अभियान सञ्चालन हुने सो संगठनले जनाएको छ। यहाँका आमसञ्चारका माध्यमहरूका साथै सामाजिक सञ्जालहरूमा चेतनामूलक सामग्रीहरू प्रकाशन प्रसारण गर्ने र मानिसलाई आत्महत्या नगर्नका लागि प्रेरित गर्ने गरी सामग्रीहरू प्रेषित गरिने जनाइएको छ।
त्यस्तै मानसिक रोग भएकाहरूको उपचारका लागि पनि संगठनले विभिन्न देश र क्षेत्रहरूमा अभियान थाल्ने जनाएको छ। संगठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ। संगठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो।