बर्दिबास यातायात कार्यालयका प्रमुख महोत्तरी १ बाट गराए मनोनयन दर्ता
डेटूडे खबर डेस्क
२३ असोज २०७९
बर्दिबास । यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका निमित्त कार्यालय प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्।
महोत्तरी क्षेत्र नम्बर १ बाट थापाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
आइतबार राजीनामा स्वीकृत भइसकेपछि उम्मेदवारी दर्ता गराएको थापाले जानकारी दिए ।
जनता पार्टीप्रति निराश भएको र स्वतन्त्र व्यक्ति मात्र राम्रो काम गर्न सक्ने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ।
बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री सहितका स्वतन्त्र युवाको समर्थनले उम्मेदवारी दिएको उनको भनाई छ।
गत स्थानीय तहको निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।
स्वतन्त्र समूहबाटै प्रदेशसभातर्फ १ को ‘क’ बाट युवराज पोखरेल र ‘ख’ बाट विनोद महतोले उम्मेदवारी दिएका छन्।
निजामती क्षेत्रका अनुभवी, यातायात, मालपाेत,नापी कार्यालयको थापाको अनुभव एवं ईलाका प्रशासन कार्यालय बर्दिबास स्थापनामा महत्वपुर्ण भूमिका रहेको एक कर्मचारीले भनाई रहेको छ ।
प्रतिनिधिसभामा महोत्तरी क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनबाट माओवादीका गिरिराजमणि पोखरेल र एमालेबाट लक्ष्मी महतोले उम्मेदवारी दिएका छन्।