‘अग्रगामी मोर्चा’ गठन गर्ने सात राजनीतिक दलको घोषणा
डेटूडे खबर डेस्क
१८ श्रावण २०८३
जनकपुरधाम । विभिन्न सात राजनीतिक दलहरू मिलेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने अन्तिम तयारी गरेका छन् । मधेश, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरू एकीकृत हुन लागेको उनीहरूले बताएका छन्।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीलगायत छन्। जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टीसमेत छन्।
सहभागी दलहरूले मोर्चालाई रणनीतिक रूपमा बलियो र दीर्घकालीन बनाउन दक्षिण अफ्रिकाको ऐतिहासिक राजनीतिक सङ्गठन अफ्रिकन नेसनल कंग्रेस (एएनसी) को मोडल अपनाउने सहमति गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा छरिएर नभई एउटै साझा चुनाव चिह्न लिएर जनतामाझ जाने गृहकार्य समेत गरेको बताइएको छ।
मोर्चाको आधिकारिक घोषणा यही साउन २३ गते हुने भएको छ।
