विवाहपञ्चमी महोत्सवको पाचौं दिन मटकोर कार्यक्रम सम्पन्न तथा आज स्वयंवर एवं वैवाहिक कार्यक्रम
डेटूडे खबर डेस्क
१२ मंसिर २०७९
जनकपुरधाम । सप्ताहव्यापी विवाह महामहोत्सवअन्तर्गत आइतबार पाँचौँ दिन मटकोर कार्यक्रम विधिवत रूपमा धुमधामका साथ सम्पन्न भएको छ । आइतबार दिउँसो जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहितको टोली बिहेको विधि पूरा गर्न गंगासागरको माटो ल्याउन पुगेका थिए ।
पोखरीबाट जानकी मन्दिरमा ल्याईएको माटोले सीता–राम विवाहका लागि वेदी तयार गरिनेछ। सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आइतबार पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको हो ।
महोत्सवको छैठौँ दिन अर्थात आज सोमबार स्वयंवर एवं वैवाहिक कार्यक्रम रहेको र भोली अन्तिम दिन मंगलबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।