पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
डेटूडे खबर डेस्क
२५ पौष २०७९
काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए ।
उनले भने, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।”
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।