केबलकार उद्धार अभ्यास सम्पन्न
डेटूडे खबर डेस्क
२६ पौष २०७९
काठमाडाैँ । केबलकारसँग सम्बन्धित संभावित दुर्घटनाहरुलाई दृष्टिगत गरि सोको पूर्व तयारी स्वरुप नेपाली सेनाले चन्द्रागिरी हिल्स् लिमिटेडसँग सहकार्य गरी सोमबार श्री चन्द्रागिरी हिल्स् लिमिटेडको केबलकार थानकोटमा ‘केबलकार उद्धार अभ्यास’ संचालन गरेको छ ।
विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरुलाई High Line Rescue तरिका (डोरी) द्वारा सुरक्षित तवरले जमिनमा उतार्ने अभ्यासको दौरान नेपाली सेनाका उद्धारकर्ताहरु र श्री चन्द्रागिरी हिल्स् लिमिटेडको उद्धार टोलीले उक्त केबलकारसँग रहेका उद्धार सामग्रीहरु र नेपाली सेनासँग रहेका उद्धार सामग्रीहरुको प्रयोग गरी अभ्यास संचालन गरेको हो । उद्धारकर्ताहरुबाट घाईते तथा सद्दे मानिसलाई विभिन्नह तरिकाले जमिनमा उतार्ने अभ्यासहरु गरिएको थियो ।
उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट श्री राष्ट्रिय विपद व्यवस्थापन शिक्षालय, श्री नं.१ विपद व्यवस्थापन गण, तथा श्री युद्धभैरव गणबाट अधिकृत सहितको टोली सहभागी भएको थियो । उक्त अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथी पदम बहादुर बुढा (पि.एचडी) लगायतको उपस्थिति थियो ।
यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास संचालनको लागि योजना तयार गर्न समेत मद्दत पुग्ने देखिन्छ ।