धनुषाधाममा एक महिने मकर मेला सुरु

  डेटूडे खबर डेस्क
  ०१ माघ २०७९

                            

जनकपुरधाम । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकर मेला आइतबारदेखि सुरु भएको छ ।


जिल्लाको उत्तरीपूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला प्रख्यात रहेको छ । माघ १ गतेदेखि मसान्त सम्म प्रत्येक आइतबार लाग्ने मकर मेला हेर्र्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालु भक्तजन तथा पर्यटकहरु धनुषाधाम आउने गदर्छन ।


त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको स्वयम्वरमा भगवान रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहेको छ । धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ ।

उक्त रुख साढे पाँचसय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ ।
अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ । सोही स्थानमा धनुषबाबाको मन्दिर निर्माण पश्चात वर्षेनि माघ महिनामा मकर मेला लाग्ने गरेको छ । पाँच मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट