अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

डेटूडे खबर डेस्क
०९ माघ २०७९
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएकी छन् ।
सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् । “हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको सङ्घर्षलाई प्रस्तुत गरिएको छ”, अभिनेत्री शर्माले भनिन् । उनी अवार्ड ग्रहण गरेपछि यहीसाता नेपाल फर्कँदैछिन् ।
साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य भएका श्रीमानको श्रीमतीको भूमिका उनले निर्वाह गरेकी थिइन् । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका थिए । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् ।