न्युजिल्यान्डलाई ६६ रनमा अल आउट गर्दै भारतको इतिहासकै उत्कृष्ट जित

  डेटूडे खबर डेस्क
  १८ माघ २०७९

                            

एजेन्सी । भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डमाथि १ सय ६८ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भारतले २-१ ले जितेको छ।
जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२.१ ओभरमा मात्रै ६६ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रन बनाए । मिचेल सान्टनारले १३ रन बनाए ।

भारतको यो टि२० आई इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित हो । भारतको यसअघि आयरल्यान्डविरुद्ध १ सय ४३ रनको जित थियो । न्युजिल्यान्डको यो दोस्रो सबैभन्दा कम योगफल हो । यसअघि न्युजिल्यान्ड २०२१ मा बंगलादेश र २०१४ मा श्रीलंकासँग टि२० आई खेलमा समान ६० रनमा अल आउट भएको थियो ।

न्युजिल्यान्डको यो टि२० आईमा हालसम्मकै फराकिलो हार हो । यसअघि पाकिस्तानसँग २०१० मा १ सय ३ रनको हार नै सर्वाधिक फराकिलो हार रहँदै आएको थियो । आफ्नो इतिहासकै खराब हार बेहोर्ने क्रमममा न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य चार खेलाडीले खाता खोल्न सकेनन् ।

भारतका हार्दिक पान्ड्याले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंहले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । उमरान मलिकले २.१ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । शिवम माभीले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो । भारतलाई विशाल योगफलमा पुर्याउन ओपनर शुभमन गिलले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय २६ रनको अविजित शतकीय इनिङ खेले । योसँगै गिल भारतबाट एकै खेलमा टि२० आईमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।

गिलले विराट कोहलीले एसिया कपमा अफगानिस्तानविरुद्ध ६१ बलमा खेलेको १ सय २२ रनको अविजित इनिङको कीर्तिमान तोडेका हुन् । गिलले ५४ बलमा टि२० करिअरको पहिलो शतक पूरा गरेका थिए । गिलले ब्यक्तिगत ३३ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर लोकी फर्गुसनको छैटौं बलमा ब्लेयर टिकनरले क्याच छाड्न पुगेका थिए । जुन जिवनदान न्युजिल्यान्डलाई भारी पर्यो ।

भारतले ओपनर ईशान किशनलाई एक रनमै गुमाएको थियो । स्पिनर माइकल ब्रेसवेलको बलमा ईशान एलबीडब्लू आउट भएका थिए । रिभ्यु लिएपनि सफल हुन सकेनन् । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र गिलले ८० रनको साझेदारी गरेका थिए ।

त्रिपाठी २२ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए । आक्रामक सुरुवात गरेपनि स्पिनर ईश सोधीको बलमा डिप स्क्वायर खेलमा लोकी फर्गुसनबाट क्याच आउट भए । सूर्यकुमार यादव १३ बलमा १ चौका र २ छक्कासहित २४ रनमा आउट भए ।
गिल र हार्दिक पान्ड्याले चौथो विकेटका लागि ४० बलमा १ सय ३ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । हार्दिक १७ बलमा ४ चौका र १ छक्कासहित ३० रनमा आउट भए ।

न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, ईश सोधी र डर्याल मिचेलले एक एक विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डले अव घरेलु मैदानमा इंग्ल्यान्डसँग दुई टेस्ट खेल खेल्नेछ । पहिलो टेस्ट १६ फेब्रुअरीदेखि सुरु हुनेछ । भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग चार टेस्ट खेलको सिरिज खेल्नेछ । पहिलो खेल ९ फेब्रुअरी देखि नागपुरमा सुरुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट