हिरासतको पर्खाल फाेडेर फरार भएका महताे एक महिनापछि पक्राउ

डेटूडे खबर डेस्क
२८ फाल्गुण २०७९
जनकपुरधाम । गत माघ १६ गते बिहान भित्तामा प्वाल पारेर फरार भएका छ थुनुवामध्ये एकजना युवक फरार भएको एक महिनापछि पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये चार जनालाई यसअगाडि नै विभिन्न मितिमा पक्राउ गरिएकोमा बाँकी रहेका दुईमध्ये एकजना पक्राउ परेका छन् ।
फरार रहेका थुनुवा मध्ये हातहतियार खरखजाना मुद्दाका शंकर सिंह महतो (वर्ष ३६) लाई फागुन २७ गते पक्राउ गरिएको हो ।
महतोलाई पर्साको बिरगंज महानगरपालिका-१६ ईनर्वामा भन्सार हुँदै लुकीछिपि नेपालबाट भारत तर्फ भाग्ने क्रममा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।
लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएका थिए ।
फरार कैदीमध्ये अब एकजना पक्राउ पर्न बाँकी रहेको प्रवक्ता गौतमले बताए ।