मार्गप्रशस्त गर्न प्रधानमन्त्री बालेन्द्र साहलाई हर्क साम्पाङको सुझाव
डेटूडे खबर डेस्क
०७ जेठ २०८३
काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्न प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थीतिको माग गर्दै अध्यक्ष साम्पाङले संसदप्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीको कर्तव्य भएकाले त्यसलाई पूरा गर्न नसके मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।
उनले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् । साम्पाङले प्रधानमन्त्रीले कर्तव्य पूरा गर्नुपर्दैन भनि सोधे ? “उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? सबै जनाले लोकतन्त्र, संसद्को गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन,” उनले सोधेका छन् । “यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गर्दा राम्रो,” हुने उनले बताएका छन् ।
