एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न सक्ने चार टोली

  डेटूडे खबर डेस्क
  २९ चैत्र २०७९

                            

काठमाडौँ । अर्को साताबाट नेपालमा एकदिवसीय एसिसी प्रिमियर कप प्रतियोगिता सुरु हुँदैछ । मुलपानी र टियु मैदानमा हुने प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह ए मा ओमान, नेपाल, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछन् । एसोसिएट टोलीको लागि भारत र पाकिस्तानसँग खेल्न पाउनु विश्वकप खेल्नु सरह हो । अझ भारत र पाकिस्तान मध्य एक टोलीलाई हराउन सके त्यो ऐतिहासिक क्षण हुनेछ ।

घरेलु टोली नेपाल एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न सक्ने प्रमुख दाबेदार टोली हो । तर त्यसको लागि नेपालले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । प्रतियोगितामा सहभागी १० मध्य चार टोली प्रमुख दाबेदारको रुपमा छन् । जसले एक अर्कालाई कुनैपनि खेलमा हराउन सक्छन् ।

सबै टोलीको क्षमता, खेलाडी र अनुभव हेर्दा २०२३ को एसिसी प्रिमियर कप उपाधि जित्दै भारत र पाकिस्तानसँग खेल्न नसक्ने प्रमुख चार दाबेदार टोली यस प्रकार देखिन्छन् ।

४. हङकङ

२०१८ मा ओडिआई मान्यता गुमेपछि एसोसिएट क्रिकेटमा हङकङको प्रभाव केहि घटेको छ । त्यसपछि दुई प्रमुख ब्याटर अंशुमन रथ र बाबर हायत नभएपछि हङकङलाई ठूलो झड्का लागेको थियो । यी दुई ब्याटर टोलीमा फर्किसकेका छन् । ओडिआई मान्यता नभएपनि २०१८ र २०२२ को एसिया कप खेल्ने टोली भने हङकङ थियो ।

२०१८ को एसिया कपमा हङकङले भारतविरुद्ध सानदार प्रदर्शन गर्दै एक समय नयाँ इतिहास नजिक पुगेको थियो । जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको हङकङलाई ओपनर निजाकत खान र अंशुमन रथले पहिलो विकेटका लागि १ सय ७४ रनको सानदार शतकीय साझेदारीका साथ एक समय भारतलाई सहजै हराउने उच्च सम्भावना देखाएका थिए ।

तर मध्यक्रमका ब्याटर नचल्दा २६ रनले पराजित भएको थियो । निजाकत र अंशुमनले अघिल्लो महिना मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिजमा पहिलो विकेटका लागि २ सय ३८ रनको साझेदारी गरेका थिए । अंशुमनले १ सय ३० र निजाकतले १ सय ११ रन बनाएका थिए । भारतबाट क्रिकेट खेल्ने सपना देखेर २०१८ मा हङकङ छाडेका अंशुमन पुनः टोलीमा फर्किएका छन् । उनलाई उत्कृष्ट प्रदर्शनको दबाब र इख हुनेछ ।

बाबर हायत, अंशुमन रथ र निजाकत खान जस्ता स्टार ब्याटरले हङकङको ब्याटिङ मजबुत बनेकोछ । बाबरलाई नेपाली कन्डिसन र खेलाडीको बारे धेरै राम्रोसँग जानकारी छ । नेपाली फ्रेन्चाइज लिगहरुमा सानदार प्रदर्शन गर्दै आएका बाबर राम्रो लाभ उठाउन सक्छन् । हङकङको मध्यक्रम ब्याटिङ पनि मजबुत छ । किन्चित शाह, जिशान अली र यासिम मुर्तजा छन् ।

विकेटकिपर जिशान अलीसँग पाकिस्तानी घरेलु क्रिकेट खेलेको राम्रो अनुभव छ । बलिङमा अनुभवी खेलाडी एहसान खानसँगै आयुश शुक्ला र हरुन अर्शद छन् । हङकङले च्यालेन्ज लिग बी मा पनि कमजोर प्रदर्शन गरेपछि आगमी चार वर्षको लागि ओडिआई मान्यता गुमाएको छ ।

तर एसिया कप जस्ता अवसर हङकङले गुमाउन चाहदैन । अर्कोतर्फ भारत र पाकिस्तानका मुलका खेलाडी हुँदा नेपालको कन्डिसनमा सहजै खेल्न सक्छन् । हङकङको ग्रासरुटमा राम्रो लगानी हुँदा टिम मजबुत बनेको छ ।

३. युएई

एक महिना अघि युएई नेपाल आउँदा कमजोर देखिएको थियो । तर क्वालिफायर प्लेअफमा सानदार प्रदर्शनका साथ विश्वकप छनोटमा स्थान बनाएको छ । मुख्य प्रशिक्षक रोविन सिंहलाई हटाएपछि युएईको प्रदर्शनमा धेरै परिवर्तन देख्न सकिन्छ । अर्कोतर्फ पछिल्लो एक वर्षमा युएईले नेपालमा ७ ओडिआई खेल खेलेको हुँदा कन्डिसन र मैदानको बारे राम्रोसँग जानकार छ ।

युएईको ब्याटिङ उत्कृष्ट छ । यसअघि ठूलो कमजोरीको रुपमा रहेको मध्यक्रम आसिफ खानले फेरेका छन् । आसिफ खानले अघिल्लो महिना नेपालविरुद्ध ४१ बलमै शतक हानेका थिए । आसिफ उच्च लयमा छन् । आसिफले नेपालविरुद्ध पछिल्ला चार इनिङमा १०१, ६, ८२ र ७२ रन बनाएका छन् । समग्र पछिल्ला ६ ओडिआई खेलमा १०१, ६, १०३, ९, ९६ र ८२ रन बनाएका छन् ।

उता कप्तान बनेपछि मोहम्मद वासिमले पनि सानदार प्रदर्शन गर्दै आएका छन् । वासिमले पछिल्ला ७ इनिङमा ११९, ६३, ९६, २, ८०, २३ र ६५ रन बनाएका छन् । युएईमा मोहम्मद वासिम, आयन लाक्रा, वृत्य अरविन्द, रमिज शाहजाद, रोहन मुस्तफा र आसिफ खान लगायतका ब्याटर छन् ।

रमिज शाहजादको पूनरागनले मध्यक्रम मजबुत बनेकोछ । युएईको तीव्र गतिको बलिङ आक्रामण सधैं उत्कृष्ट रहँदै आएको छ । जुनैद सिद्धिक र जहुर खानको जोडी नायक बन्न सक्छन् । स्पिनर आयन खान, रोहन मुस्तफा र आर्यन लाक्रा छन् । युएईको टोली सन्तुलित छ । जसले गर्दा उपाधि दाबेदार टोली देखिन्छ ।

२. ओमान

ओमानमा अनुभवी खेलाडी छन् । एउटै टिमले लगातारसँगै खेल्दै राम्रो प्रदर्शन गर्दै आएको हुँदा मजबुत देखिन्छ । ओमानको टोलीमा कप्तान जिशान मकसुद, बिलाल खान, अकिब इलियास र जतिन्दरसिंह जस्ता म्याच विनर अनुभवी खेलाडी छन् ।
दबाबको खेलमा अनुभवी खेलाडीको निकै महत्वपूर्ण भूमिका हुन्छ । कप्तान जिशान मकसुद प्रमुख हतियार हुन् ।

उनी मध्यक्रमका भरपर्दा ब्याटर हुन् । स्पिन त्यतिनै राम्रो गर्दछन् । आइसिसी विश्वकप लग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा तीन वर्ष अघि अमेरिका र नेपालविरुद्ध टियु मैदानमा चारै खेल जित्न ओमानले उत्कृष्ट प्रदर्शन गरेको थियो । जसमा जिशान र अकिबको प्रदर्शन उत्कृष्ट थियो । बायाँ हाते खेलाडी हुँदा उनी रणनीतिक हिसाबमा झनै सफल हुन सक्छन् । बिलालको गतिको सामना गर्न पक्कै सहज हुनेछैन ।

ओमानको ओपनरमा जतिन्दर सिंह र अकिब इलियास छन् । १६ महिनापछि टोलीमा फर्किएका अकिब सानदार पूनरागमन गर्न सक्छन् । उनले २०२० मा घरेलु टोली नेपाल र अमेरिकाविरुद्ध लगातार शतकका साथ सानदार प्रदर्शन गरेका थिए । त्यसपछि जिशान मकसुद, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नसिम खुसी जस्ता ब्याटर छन् ।

बलरमा बिलाल खान, कलिमुल्लाह, अहमद फैज बुट जस्ता बलर छन् । अनुभवी खेलाडीको बाहुल्यता हुँदा ओमान पहिलो पटक एसिया कपमा स्थान बनाउनसक्छ । अर्कोतर्फ स्पिन बल ओमानका ब्याटरले धेरै राम्रो पनि खेल्ने गर्दछन् ।

१. नेपाल

नेपाल उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न सक्ने प्रमुख दाबेदार टोली हो । उत्कृष्ट ब्याटिङ लाइनअप, घरेलु मैदान, कन्डिसन, दर्शक, पछिल्लो समय सानदार प्रदर्शन र युवा खेलाडीको जोशले भोरिएको नेपाल प्रमुख दाबेदार देखिन्छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला १२ मध्य ११ खेलमा जितका साथ सोझै विश्वकप छनोटमा पुग्नुको साथै ओडिआई जोगाएको थियो ।

कुनैपनी टोली घरेलु मैदानमा अतिरिक्त बलियो हुन्छ । मोन्टि देशाईको मुख्य प्रशिक्षक र रोहित पौडेलको कप्तानीमा नेपाली खेलाडीको मनोबल फेरिएको छ । घरेलु मैदानमा पछिल्लो समय नामिबिया, स्कटल्यान्ड र युएई जस्ता देशलाई हराएको आत्माविश्वास झनै उच्च छ । नेपालको प्रमुख कमजोरी यसअघि ब्याटिङ रहँदै आएको छ । तर पछिल्लो समय प्रमुख हतियार नै ब्याटिङ बनेको छ ।

ओपनरमा कुशल भुर्तेल र आसिफ हुनेछन् । यी दुबै राम्रो लयमा छन् । त्यसपछि कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की जस्ता ब्याटर छन् । सबैले राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालको मध्यक्रम र शीर्षक्रम नचले पनि तल्लोक्रमका ब्याटरले राम्रो ब्याटिङ गर्न सक्छन् । तल्लोक्रममा गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने हुन् । नेपालको ब्याटिङ ९/१० नम्बरका खेलाडी सम्म भरपर्न सक्ने क्षमता भएकोछ ।

स्पिनर सन्दीप लामिछाने राम्रो लयमा छन् । सन्दीप र ललितनारायण राजवंशीको जोडीको सामना गर्न सहज हुनेछैन । तीव्र गतिको बलरमा सोमपाल कामी र करण केसी हुनेछन् । डेथ ओभर र पावर प्लेमा नेपालले आफ्नो कमजोरी सुधार गरेमा झनै उत्कृष्ट प्रदर्शन गर्न सक्छ । नेपालको टोली उत्कृष्ट लयमा हुँदा उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्ने उच्च सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट