मुम्बईलाई हराउँदै चेन्नई प्लेअफ नजिक

  डेटूडे खबर डेस्क
  २३ वैशाख २०८०

                            

एजेन्सी । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४९ औं खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना मजबुत बनाएको छ । छैटौं जितका साथ चेन्नई अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै प्लेअफदेखी दुई जित टाढा रहेको हो ।
जितको लागि १ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईको जितमा ओपनर डेभन कन्वेले ४२ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । अर्का ओपनर ऋतुराज गायकवाड १६ बलमा ४ चौका र २ छक्कासहित ३० रनमा आउट भए ।

अजिंक्या हराणे २१ र अम्बाती रायुडू १२ रनमा आउट भए । शिवम दुबे १८ बलमा ३ छक्कासहित २६ र धोनी ३ बल खेल्दै दुई रनमा अविजित रहे । मुम्बईका पियुष चवालाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ट्रिस्टन स्टब्स र आकाश मढवालले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १सय ३९ रन मात्रै बनाउन सक्यो । टोलीमा टि२० विशेष खेलाडी भएपनि चेन्नईविरुद्ध प्रमुख कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् ।

मुम्बईका युवा खेलाडी नेहाल वढेराले ५१ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनको योगदान दिए । ओपनर क्यामरन ग्रीन ६, ईशान किशन ७, रोहित शर्मा डक आउट, सूर्यकुमार यादव २६, ट्रिस्टन स्टब्स २० र टिम डेविड २ रनमा आउट भए ।

चेन्नईका तुषार देशपान्डेले ४ ओभरमा २६ रन खर्चेर२ विकेट लिए । योसँगै देशपान्ड जारी आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी बन्दै पर्पल क्याप पाएका छन् । उनीपछि गुजरातका मोहम्मद शामी १८ विकेटका साथ दोस्रो स्थानमा छन् ।

दीपक चाहरले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । युवा तीव्र गतिका बलर मथिसा पथिरानाले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।

चेन्नई ११ खेलमा ६ मा जित र ४ मा हारका साथ १३ अंकका साथ दोस्रो स्थानमा छ । गुजरात १० खेलमा ७ मा जित र ३ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट