साउने साेमबारको व्रत आजदेखि सुरु

  न्यूज डेस्क
  २५ आषाढ़ २०८०

                            

काठमांडौँ। चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए । 

धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । 

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । 

चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए । साउनमा अधिकमास परे पनि नित्य रूपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए । 

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट