एक महिना सम्म लाग्ने गेरुका मेलामा स्नान गर्ने श्रद्धालुको घुईचो

  न्यूज डेस्क
  ०३ श्रावण २०८०

                            

महोत्तरी। महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टास्थित गेरुकाधाम मेला सुरु भएको छ । एक महिना सम्म लाग्ने मेला मंगलबारदेखि सुरु भएको छ । पुरुषोत्तम मासको अवसरमा यहाँ भव्य मेला लाग्ने गरेको छ । सोही अवसरमा जनकपुरधामबाट जानकी मन्दिरको नेतृत्वमा भगवान जानकीको डोलासहित श्रद्धालु तथा साधुसन्तहरु गेरुकाधाम पुगेर शाही स्नान तथा गेरुका मन्दिरमा विशेष पूजापाठ गरेका छन् ।

गेरुका नदीमा शाही स्नानका लागि जनकपुरधामका विभिन्न मठ मन्दिरहरूबाट महन्त, साधुसन्त सहितको टोलीले झाँकी सहित गेरुका मेला पुगेका थिए । धार्मिक महत्वको गेरुका नदीमा स्नान गरेर गेरुकाधाममा रहेको भगवान् विष्णु सहितको मठ मन्दिरमा विशेष पूजापाठ गर्ने चलन रहेको छ । भगवान् विष्णु मलमासमा गेरुका नदीमा वास बस्ने मान्यता अनुसार नदीमा स्नान गर्नका लागि नेपाल र भारतबाट हजारौँ श्रद्धालुहरू मलमास अवधिमा गेरुका पुग्ने गरेका छन् । भगवान रामको ससुराली भएका कारणले पनि मिथिलामा सबै अवतारको उतिकै श्रद्धाका साथ पूजा हुने गरेको जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दासले वताए । पुरानो ग्रन्थहरुमा उल्लेख भएअनुसार पुरुषोत्तम मास धर्मकर्मका लागि उपयोगी मानिन्छ । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दान धर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्ने विश्वास छ । यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट साह्रै ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

शाही स्नानमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रदेशसभा सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुन्दर सदनका महन्त नवलकिशोर दास बैष्णव लगायतको सहभागिता थियो । उनीहरुलाई ठाउँ ठाउँमा सर्वसधारणहरुले स्वागत गरेका थिए । प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले पनि दोसल्ला ओढाएर साधुहरुलाई यात्रामा स्वागत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट