पृथ्वी शाको विष्फोटक दोहोरो शतक

  डेटूडे खबर डेस्क
  २५ श्रावण २०८०

                            

एजेन्सी । भारतीय युवा ब्याटर पृथ्वी शाले इंग्ल्यान्डको घरेलु क्रिकेट प्रतियोगिता एकदिवसीय कपमा नर्थह्याम्प्टनशायरबाट विष्फोटक दोहोरो शतकीय इनिङ खेलेका छन् । शाले सानदार दोहोरो शतक प्रहार गरेपछि नर्थह्याम्प्टनशायरले सोमर्सेटलाई ४ सय १६ रनको विशाल लक्ष्य दिएको छ ।

काउन्टी ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नर्थह्याम्प्टनशायरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ४ सय १५ रन बनायो । पृथ्वी शाले १ सय ५३ बलमा २८ चौका र ११ छक्कासहित २ सय ४४ रनको सानदार दोहोरो शतकीय इनिङ खेले । यो शाको लिष्ट ए करिअरको उत्कृष्ट प्रदर्शन हो । शाले १ सय २९ बलमा २४ चौका र ८ छक्कासहित २ सय रन पूरा गरेका थिए ।

यसअघि शाले २०२१ मा विजय हजारे ट्रफीमा मुम्बईबाट १ सय ५२ बलमा ३१ चौका र ५ छक्कासहित २ सय २७ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए । त्यो नै उनको लिष्ट ए करिअरको उच्च प्रदर्शन थियो ।

यो लिष्ट ए क्रिकेट करिअरकै छैटौं ठूलो योगफल हो । सबैभन्दा ठूलो योगफल भारतीय नारायण जगदीशनले २०२२ मा विजय हजारेमा तामिल नाडुबाट अरुणाअन्चलविरुद्ध २सय ७७ रनको इनिङ खेलेका थिए ।

अली ब्राउनले इंग्ल्यान्डको घरेलु क्रिकेटमै २००२ मा २ सय ६८, भारतीय कप्तान रोहित शर्माले २०१४ मा श्रीलंकाविरुद्ध २ सय ६४, अष्ट्रेलियाको घरेलु क्रिकेटमा म्याथ्यु सर्टले २०१८ मा २ सय ५७ र शिखर धवनले भारत ए बाट २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध २ सय ४८ रनको इनिङ खेलेका थिए । रोहित ओडिआईमा सर्वाधिक रन बनाउने ब्याटर समेत हुन् ।

शा २०२१ श्रीलंका भ्रमणपछि भारतीय टोलीमा छैनन् । यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिलए) मा दिल्ली क्यापिटल्सबाट सुरुवातमा राम्रो गर्न नसकेपछि बेन्चमा बस्नु परेको थियो ।

शाले भारतबाट ५ टेस्ट, ६ ओडिआई र १ टि२० आई खेल खेलेका छन् । भारतीय क्रिकेटमा मौका नपाउन नसकेपछि शा आफूलाई ब्यस्त राख्न इंग्ल्यान्डमा काउन्टी खेल्न गएका हुन् । २०१८ मा भारतले शाको कप्तानीमा यू१९ विश्वकप उपाधि जितेको थियो । शालाई भारतीय क्रिकेटको भविष्य मानिएको थियो । तर पछिल्लो दुई वर्षमा उनी भारतीय टोलीमै छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट