धरानबासीलाई प्रधानमन्त्रीको अपील

  न्यूज डेस्क
  ०९ भदौ २०८०

                            

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकता र सद्भावका पक्षमा उभिन धरानबासी जनसमुदायलाई अपील गरेको छ । केही दिनयता अशान्त भइरहेको धरानका स्थानीयलाई शनिबार साँझ एक अपील गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेको हो । 

‘‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु’’, प्रधानमन्त्री प्रचण्डले भनेको छ ।    

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भनेको छ, ‘‘विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।’’

संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेको उनले प्रष्ट पारेको छ । उनले एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनले निषेध गरेको कुराकोसमेत स्मरण गराएको छ । 

‘‘नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ’’, प्रधानमन्त्रीले भनेको छ, ‘‘कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ । यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।’’

केही दिनयता धरानमा भइरहेको गतिविधिले हाम्रो सद्भाव र एकतामा नकारात्मक प्रभाव परेको भन्दै यो विषयमा सरकार गम्भीर रहेको उनले प्रष्ट पारेको छ । प्रधानमन्त्री प्रचण्डले चुनौतीको सामना संवादबाट गर्न सकिनेसमेत उल्लेख गरेको छ । 

‘‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति,  र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु’’, उनले भनेको छ, ‘‘धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु । विभिन्न वर्ण, लिङ्ग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ । नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ ।’’

प्रधानमन्त्री प्रचण्डले सबै धर्मले राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान गर्ने बताउँदैँ समस्या समाधानको सुत्रधार भएर सामाजिक खलल पुग्ने कार्यबाट टाढा रहेर समस्या समाधान गर्न धरानबासीलाई अपील गरेको हो । 

‘‘सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पुर्याउन समेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्वपूर्ण रहन्छ । कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सुत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ’’, प्रधानमन्त्री प्रचण्डले अपीलमा भनेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट