सानदार जितसँगै अष्ट्रेलियालाई एक खेल अगावै सिरिज

  डेटूडे खबर डेस्क
  १६ भदौ २०८०

                            

एजेन्सी । कप्तान मिचेल मार्श र म्याथ्यु शर्टको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन खेलको टि२० आई सिरिजमा अष्ट्रेलियाले २(० को अग्रता लिएको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १४.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान मिचेल मार्श ३९ बलमा ८ चौका र ६ छक्कासहित ७९ रनमा अविजित रहे ।

ओपनर म्याथ्यु शर्टले ३० बलमा ७ चौका र ४ छक्कासहित ६६ रनको योगदान दिए । ट्रविस हेड १७ बलमा ४ चौकासहित १८ र जोश इंग्लिसले २ रन बनाए । दक्षिण अफ्रिकाका लिजार्ड विलियम्स र तबरेज शाम्सीले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।

दक्षिण अफ्रिकाका कप्तान एडेन माक्ररमले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४९ तथा टेम्बा बभुमाले १७ बलमा ६ चौका र १ छक्कासहित ३५ रनको बनाए । ओपनर रिजा हेन्ड्रिक्स ३, रास्सी भान डर डुसेन ६, डेवाल्ड ब्रेभिस डक, जेराल्ड कोट्जी ११ रनमा आउट भए ।

अष्ट्रेलियाका शन एबोटले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । नाथन एलिसले ४ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । जेसन बेहरनडोफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलिया १ सय ११ रनले विजयी भएको थियो । अव तेस्रो खेल आइतबार हुनेछ । त्यसपछि पाँच ओडिआई खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट