बंगलादेशमाथि पाकिस्तानको सानदार जित

  डेटूडे खबर डेस्क
  २१ भदौ २०८०

                            

एजेन्सी । पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ९४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका ओपनर इमाम उल हक ८४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । मोहम्मद रिजवान ७९ बलमा ७ चौका र १ छक्कासहित ६३ रनमा नट आउट रहे ।

ओपनर फखार जमाम २० र बाबर आजम १७ रनमा आउट भए । अघा सलमान १२ रनमा नट आउट भए । बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक एक विकेट लिए ।

त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ३८.४ ओभरमा १ सय ९३ रनमा अल आउट भयो । बंगलादेशका लागि विकेटकिपर मुश्फिकुर रहिमले ८७ बलमा ५ चौकासहित सर्वाधिक ६४ रनको योगदान दिए । त्यस्तै कप्तान सकिब अल हसन ५७ बलमा ७ चौकासहित ५३ रनमा आउट भए ।

एक समय ९.१ ओभरमा ४७-४ को अवस्थामा पुगेको बंगालादेशलाई पाँचौं विकेटका लागि सकिब र मुश्फिकुरले १ सय रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काए । ३० औं बलको पहिलो बलमा सकिबलाई तीव्र गतिका बलर फहिम अशरफले फखार जमानबाट क्याच गराएपछि सम्हाल्लिन सकेन ।

ओपनर मोहम्मद नइम २०, मेहेदी हसन मिराज डक, लिटन दास १६, शमिम हुसैन १६ र अफिफ हुसैन १२ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ६ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । नसिम शाहले ५.४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।

सुपर फोरमा पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका छन् । सुपर फोरको यो पहिलो खेल हो । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट