भारतको अर्को सानदार जित

  डेटूडे खबर डेस्क
  ०८ असोज २०८०

                            

एजेन्सी । भारतले दोस्रो ओडिआई खेलमा सानदार ब्याटिङ प्रदर्शनका साथ अष्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एकखेल अगावै जितेको छ ।

जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण अष्ट्रेलियाले ३३ ओभरमा उक्त लक्ष्य पाएको थियो ।

अष्ट्रेलियाका शन एबोटले ३६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै जोश हेजलवुडले १६ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाए ।

ओपनर डेविड वार्नर ३९ बलमा ७ चौका र १ छक्कासहित ५३, म्याथ्यु सर्ट ९, स्टिभ स्मिथ गोल्डेन डक, मार्नस लाबुसेन २७, जोश इंग्लिस ६, एलेक्स केरी १४ र क्यामरन ग्रीन १९ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले ५.२ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ७ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णाले दुई र मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो । भारतको जितमा श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।

शुभमन गिल ९७ बलमा ६ चौका र ४ छक्कासहित १ सय ४ रनमा आउट भए । दोस्रो विकेटका लागि गिल र ऐरले १ सय ६४ बलमा २ सय रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

कप्तान लोकेश राहुलले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५२ रन बनाएका थिए । ईशान किशन पनि १८ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा आउट हुन पुगेका थिए ।

तल्लोक्रममा सूर्यकुमार यादवले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७२ रनको विष्फोटक इनिङ खेलेपछि विशाल योगफल बनाएको थियो । अष्ट्रेलियाका क्यामरन ग्रीनले १० ओभरमा १ सय ३ रन खर्चेर २ विकेट लिएका थिए ।

जोश हेजलवुडले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । शन एबोटले १० ओभरमा ९१ रन खर्चेर १ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट