दक्षिण अफ्रिकाको सानदार जित

  डेटूडे खबर डेस्क
  २१ असोज २०८०

                            

एजेन्सी । रन, शतक, चौका र छक्काको वर्षा भएको खेलमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई १ सय २ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि ४ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा ३ सय २६ रनमा अल आउट भयो । श्रीलंकाका मध्यक्रमका ब्याटर चरिथ असलंकाले ६५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७९ रन बनाए । तर त्यो रन जितको लागि पर्याप्त थिएन ।

तीव्र गतिका बलर मार्को यानसनले दोस्रो ओभरको पहिलो बलमै ओपनर पाथुम निसंकालाई शून्यमा बोल्ड गरे । तर अर्को एन्डबाट कुशल मेन्डिसले आक्रामक रुपमा प्रस्तुत भएका थिए । कुशल परेरा ७ रनमा यानसनको बलमा आउट भए ।

कुशल मेन्डिस ४२ बलमा ४ चौका र ८ छक्कासहित ७६ रनको विष्फोटक इनिङ खेल्दै आउट भए । उनी कागिसो रबाडाको बलमा विकेटकिपर हेनरिक क्लासेनबाट समातिन पुगेका थिए । सदिरा समाराविक्रमा २३ र धनन्जय डि सिल्भा ११ रनमा आउट भए ।

कप्तान दाशुन शानकाले तल्लोक्रममा हारको अन्तर घटाएका थिए । शानका ६२ बलमा ६ चौका र ३ छक्कासहित ६८ रनमा आउट भए । उनी स्पिनर केशव महाराजको बलमा बोल्ड आउट भए ।

कसुन रजिथा ३१ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजल १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले १० ओभरमा ९२ रन खर्चेर २ विकेट लिए ।

जेराल्ड कोट्जीले ९ ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ७.५ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । लुन्गी एनगिडीले ८ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो । बाउन्ड्री र कमजोर बलिङको फाइदा उठाउँदै रनको वर्षा गराएको थियो । चोटको कारण प्रमुख दुई स्पिनर वानिन्दु हसरंगा र महेश थिक्सेना नहुँदा श्रीलंकाको बलिङ आक्रामण कमजोर बन्न पुगेको हो ।

यो विश्वकप इतिहासकै उच्च योगफल हो । विश्वकपमा यसअघि उच्च योगफल २०१५ मा अष्ट्रेलियाले सिड्नीमा अफगानिस्तानविरुद्ध ४ सय १७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि कक, रास्सी भान डर डुसेन र एडेन माक्ररमले शतकीय इनिङ खेले । माक्रमले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रनको कीर्तिमानी इनिङ खेलेका थिए । एडेन माक्ररमले विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए ।

उनले २०११ मा आयरल्यान्डका केभिन ओ ब्रायनले इंग्ल्यान्डविरुद्ध ५० बलमा हानेको शतकको कीर्तिमान तोडेका छन् । ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमा हानेका थिए ।

विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका हुन् । ओडिआईमा यसअघि तीन पटक मात्रै एकै खेलमा तीन शतक प्रहार भएका थिए । २०१५ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध, त्यसै वर्ष दक्षिण अफ्रिकाले भारतविरुद्ध तथा गतवर्ष इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध एकै खेलमा तीन शतक हानेको थियो ।

तर ती तीन खेल विश्वकप नभएर सिरिजका थिए । त्यसै खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध आफ्नो ओडिआई इतिहासकै उच्च ४ सय ३९ रन बनाएको थियो ।

अनुभवी ब्याटर रास्सी भान डर डुसेन १ सय १० बलमा १३ चौका र २ छक्कासहित १ सय ८ रनमा आउट भए । ओपनर क्विन्टन डि ककले ८४ बलमा १२ चौका र ३ छक्कासहित १ सय रन बनाउँदै आउट भएका थिए ।

दोस्रो विकेटका लागि डुसेन र डि ककले २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गरेपछि दक्षिण अफ्रिकाले विशाल योगफलको आधार तय गरेको थियो । कप्तान टेम्बा बभुमा भने ८ रनमै आउट भएका थिए ।

हेनरिक क्लासेन २० बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा आउट भए । डेविड मिलर २१ बलमा ३ चौका र २ छक्कासहित ३९ तथा मार्को यानसन १२ रनमा नटआउट रहे ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले १० ओभरमा ९५रन खर्चेर १ विकेट लिए । कसुन रजिथाले १० ओभरमा १ मेडनसहित ९० रन खर्चेर १ विकेट लिए । दिलशान मदुशानकाले १० ओभरमा ८६ रन खर्चेर २ विकेट लिए । दुनिथ वेलालागेले १० ओभरमा ८१ रन खर्चेर १ विकेट लिए ।

खेलमा श्रीलंकाले १७ र दक्षिण अफ्रिकाले १४ गरि कुल ३१ छक्का प्रहार भएका थिए । दक्षिण अफ्रिका ४ सय २८ र श्रीलंका ३ सय २६ गरि एकै खेलमा ७ सय ५४ रन बनेको थियो ।

श्रीलंकाले अव मंगलबार हैदराबादमा पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । दक्षिण अफ्रिकाले बिहीबार अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलियाले पहिलो खेल आइतबार भारतसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट