हमासको इजरायल आक्रमणमा १० जना नेपालीको मृत्यु

  डेटूडे खबर डेस्क
  २१ असोज २०८०

                            

एजेन्सी ।

हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

 हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपालीमध्ये १० जनाको मृत्यु भएको हो।

आक्रमणमा परेका एक नेपाली सम्पर्कविहीन रहेका छन् भने ४ जना नेपाली सुरक्षित स्थानमा रहेका छन्। आक्रमणमा सिकिस्त २ जनाको उपचार भइरहेको छ।

आक्रमणमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपालीको मृत्यु भएको छ। कैलाली भुनियाँ-३ का आशिष चौधरी, दार्चुलाको लेखम-५ का दिपेशराज बिष्ट, धनुषाको सपही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकारको पनि मृत्यु भएको छ।

आक्रमणमा डोटी पछन्ली-३ का राजन फुलरा, डोटी लमीखाल-८ का पदम थापा, सल्यानको शारदा-३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन-४ का लोकेन्द्रसिं धामीको पनि मृत्यु भएको छ।

आक्रमणका क्रममा कञ्चनपुरको भीमदत्त-३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन्। गोरखाको गोर्खा-८ का हिमाञ्चल कट्टेल, कैलालीको टीकापुर-९ का धनबहादुर चौधरीको अवस्था सामान्य छ। दुवै जना उपचाररत छन्।

सल्यानको शारदा-२ का विधान सेजुवाल र दाङको दंगीशरण-३ का प्रविण डाँगीको खुट्टामा चोट लागेको र उनीहरुको उपचार भइरहेको छ।

सल्यानको त्रिवेणी गाउँपालिका-१ का प्रमोद केसी, कैलाली भजनी-४ का वीरेन्द्र चौधरी सुरक्षित रहेका छन्।

हमासविरुद्ध इजरायली सैनिक आक्रामक

यसैबीच इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टिनी लडाकु समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन्।

इजरायली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई आगामी २४ घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ। सेनाका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आक्रमण तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो।

दक्षिणी इजरायलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ। हमासको आक्रमणमा र भिडन्तमा ६ सय इजरायली मरिएका छन् भने सय जनाभन्दा बढी इजरायलीको अपहरण गरिएको छ।

दुई पक्षबीच भिडन्तमा सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू पनि मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरायली सेनाले जनाएको छ। गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको हवाई आक्रमणमा ३ सयभन्दा बढीको मृत्यु भएको र करिब २ हजार घाइते भएको बताएका छन्।

हिजबुल्लाह समूहले तीन वटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण गरेको छ। इजरायलले आक्रमणमा आफ्ना कम्तीमा ३ सय नागरिक मारिएको र १ हजारभन्दा बढी घाइते भएको बताएको छ।

इजरायल-प्यालेस्टाइन तनावबारे छलफल गर्न राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आज आपत्कालीन बैठक बस्दै छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सहयोगका लागि प्रस्ताव गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट