तराई मधेशमा गर्मी झनै बढ्यो

  डेटूडे खबर डेस्क
  १७ वैशाख २०८१

                            

जनकपुरधाम । आज तराई मधेशका जिल्लामा गर्मी झनै बढेको छ । एक हप्ताभन्दा बढी समयदेखि भइरहेकाे उखरमाउलो गर्मी आज झनै बढेपछि जनजीवन कष्टकर बनेको छ ।

आज तराई मधेशका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै पुग्यो । दिउँसो रौतहट, पर्सा, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस आसपास पुग्यो ।

गर्मी अत्यधिक बढेका कारण दिउँसो तराई मधेशका बजार तथा बस्तीहरू सुनसान थिए । घरबाट बाहिर निस्कनै नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन् । तराई मधेशसँगै काठमाण्डौ उपत्यकासहित मध्यपहाडका धेरैजसो जिल्लामा पनि गर्मी बढेको छ ।

गर्मी अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा तातो हावाको लहर बढिरहेकोमा अधिकतम तथा न्यूनतम दुवै तापक्रम बढ्ने क्रममा रहेकाले तातो हावाको लहर अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदा केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै विभागले चेतावनीसहितको सूचना जारी गरेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, हल्का तथा सुतीका लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोपेर मात्र निस्कन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोलिलो प्रशस्त खान स्वास्थ्यकर्मीको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट