नेपाली नारीको तीज र मधेशको चौरचन एकैदिन आज

  न्यूज डेस्क
  २१ भदौ २०८१

                            

महोत्तरी। तिथि गणनाले एक दिनअघिपछि मनाइने नेपाली नारीको पर्व तीज र मधेशको मिथिला क्षेत्रको चौरचन आज एकैदिन परेको छ । भदौ शुक्ल तृतीया तिथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीका चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो ।

भाद्र शुक्ल तृतीयाका दिन गरिने तीज व्रत र चौथीका दिनको चन्द्र दर्शनको चौरचन पर्व तिथिको भोग घटबढले आज एकैदिन परेको छ । तृतीया तिथिमा एक अहोरात्र गरिने तीज पर्व र चौथी तिथिको चन्द्रमा आजै साँझको हुनेहुँदा दुवै पर्व एकैदिन परेका हुन् ।

तीज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् । आज दिउँसो २ बजेसम्म तृतीया तिथिको भोग रहेको हुँदा तीज व्रत परेको हो । त्यसैगरी चौथी तिथिको चन्द्रोदय पनि आजै साँझ परेपछि मिथिलामा चौरचन पर्व आजै मनाइन पर्नेे मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताए । “चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान छ, चौथी तिथिको चन्द्रोदय आजै हुनेहुँदा यसपालि तीज व्रत र चौरचन एकैदिन परेका हुन्”, झाले भने ।

चौरचन पर्वमा आँगनमाझमा गाईको गोबरले लिपेर चामलको पिठोले बनाइएको अरिपन (चतुष्कोण) यज्ञस्थलमा दीप प्रज्वलित गर्दै वर्तालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ । वर्तालुले दिनभरि निराहार व्रत बसेर चौथीका चन्द्रमालाई खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल देखाएर यो पर्व सम्पन्न गर्छन् । चन्द्रदर्शनपछि इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद खुवाइने चलन छ ।

हिन्दू मैथिल परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन दिनभरि निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन छ । यो व्रत पुरुष महिला दुवैले गर्नसक्ने व्रत विधान छ । तर मिथिलामा सामान्यतया घरमूली महिला व्रत बस्ने गर्छन् । मिथिलामा चौरचन मुख्य पर्वमध्ये मानिन्छ ।

भाद्र शुक्ल चौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले झुठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने, चन्द्रमाको कृपाले कान्ति बढ्ने र जीवनमा सुखशान्ति प्राप्त हुने जनविश्वास छ । अघि द्वापरयुगमा राजा सत्राजितले उपहारमा प्राप्त गरेका श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत् महापुराण र कृष्णलीला माहात्म्यमा वर्णित छ । त्यसै बेलादेखि चौरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

मैथिल परम्परामा चन्द्रदोष मेटाउने यो पर्व अब मधेशमा बस्ने पर्वते मूलका हिन्दूले पनि बाक्लै मनाउन थालेका छन् । त्यसैगरी तीज व्रत लिने मिथिलानी (मिथिलाका नारी) को सङ्ख्या पनि उल्लेख्य देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट