आज गणेश चतुर्थी

  डेटूडे खबर डेस्क
  २२ भदौ २०८१

                            

जनकपुरधाम ।  भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बी शनिबार भगवान् गणेशको जन्मदिन मनाउँदै छन्। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।

 भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्। हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले उनैको पूजा गरिन्छ। गणेशको पूजा नगरी वा उनलाई नसम्झी गरेका कार्यमा विघ्न पर्छ भन्ने विश्वास छ। 

सनातन समाजमा कुनै काम शुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन्।

 

भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता छ। चन्द्रमा हेरे चोरीको दोष लाग्ने विश्वास गरिन्छ। तर योपटक चतुर्थीको चन्द्रमा शुक्रबार नै थियो। शुक्रबार मध्याह्न १२ बजेर ८ मिनेटमा चतुर्थी तिथि लागिसकेको थियो। शनिबार २० घडी ४९ पला अर्थात् दिउँसो २ बजेर ५ मिनेसम्म चतुर्थी तिथि रहेको पञ्चांगमा उल्लेख छ।

पुराणका अनुसार गणेशले नै यो दिन चन्द्रमाको दर्शन गर्न नहुने श्राप दिएका हुन्। गणेश चौथी नेपाल र भारतका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइन्छ। विभिन्न स्थानमा गणेश रथयात्रा निस्कन्छन्।

 तराई–मधेशमा पनि चौठचन्द्रका नाममा यो पर्व ठूलो महत्त्वका साथ मनाइन्छ। गणेश चौथीको बहाना गरी गाउँघरतिर साँझमा  केटाकेटीले काँक्रो, फलफूल र तरकारी चोरी गर्ने लौकिक चलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट