मस्तिष्कघातका कारण वरिष्ठ पत्रकार पाण्डेको निधन

  न्यूज डेस्क
  २८ भदौ २०८१

                            

वीरगञ्ज । वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आउएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्कघातका कारणले बिरामी परेको पाण्डेको आन्दाजी ६६ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानले मस्तिष्कघातका कारणले बिरामी भएका वरिष्ठ पत्रकार पाण्डेको शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार अपराह्न उपचारका क्रममा निधन भएको जानकारी दिए ।

“वरिष्ठ पत्रकार पाण्डे हाम्रो अभिभावक हुन्थ्यो । उनका परिवारका सदस्यका अनुसार उनी मस्तिष्कघातका कारणले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ थिए । उनको निधनले पत्रकारिता जगत्ले एउटा हस्ती नै गुमाउन पुगेका छौँ”, उनले भने, “उनको निधनले पत्रकारिता क्षेत्रलाई अपुरणीय क्षति भएको छ ।”

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका पूर्वअध्यक्ष शत्रुघन नेपालले वरिष्ठ पत्रकार पाण्डे गत भदौ १३ गते बाराको डुमारानास्थित घरमा बिरामी भएर थप उपचारका लागि काठमाडौं गएको बताए।

“गत भदौ १३ गते बाराको डुमारानामा बिरामी भयो । उनलाई उपचार गर्नका लागि एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याउँदासम्म होसमा थिए । त्यो बेलासम्म कुरा गर्न सक्ने अवस्थामा थिए”, उनले भने, “नारायणी अस्पतालले थप उपचारका लागि भनेर सोही दिन नै काठमाडौंमा रेफर गरेको थियो ।”

पूर्वअध्यक्ष नेपालका अनुसार वरिष्ठ पत्रकार पाण्डेलाई भदौ १४ गते शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा राखिए पनि भदौ १५ गते भने उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । पुख्र्यौली घर धादिङ भए पनि उनले पर्सालाई कर्मभूमि बनाएर पत्रकारिता गर्दै आइरहेको थियो । पाण्डे यसअघि नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको पूर्वसचिवसमेत थिए । पूर्वअध्यक्ष नेपालले वरिष्ठ पत्रकार पाण्डेको निधनले एक कुशल अभिभावक गुमाउनुपरेको प्रतिक्रिया दिए ।

“वरिष्ठ पत्रकार पाण्डेले सञ्चालन गरेको उत्थान साप्ताहिक पत्रिकामा २०४१ सालमा मैले सहसम्पादकका रूपमा काम गरेको थिएँ । उनले हामीजस्ता धेरैजनालाई पत्रकारिता पनि सिकाए”, उनले विगतलाई स्मरण गर्दै भने, “उनको निधनले एउटा सच्चा अभिभावक गुमाएको महसुस गरेको छु ।” स्वर्गीय पत्रकार पाण्डेका एक छोरा र एक छोरी छ । उनकी श्रीमती र एक छोराको यसअघि नै निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट