लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी
-1746623360_1746703081.jpg)
डेटूडे खबर डेस्क
२५ वैशाख २०८२
भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर धेरै भारतीय सैन्य अड्डाहरूलाई निसाना बनाउने प्रयास गरेको दाबी गरेको छ ।
पाकिस्तानले पनि भारतमाथि यस्तै आरोप लगाएको छ । २५ वटा भारतीय ड्रोन खसालेको दाबी पाकिस्तानले गरेको छ । दुवै देशले गरेको दाबीको स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन ।
एजेन्सी ।
भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर पाकिस्तानले ड्रोन प्रयोग गरेर अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायत उत्तरी र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ ।
भारतको रक्षा मन्त्रालयले पाकिस्तानका यी आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड तथा वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ ।
पाकिस्तानी ड्रोनका भग्नावशेषहरू धेरै स्थानबाट बरामद भइरहेको र यसले आक्रमण पाकिस्तानले गरेको प्रमाणित गर्ने भारतको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भारतले पनि पाकिस्तानलाई उस्तै शैलीमा जवाफ दिएको दाबी विज्ञप्तिमा गरिएको छ ।
विज्ञप्तिअनुसार भारतको सशस्त्र सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार तथा प्रणालीहरूलाई निसाना बनाएको थियो । “विश्वसनीय जानकारीअनुसार लाहोरमा एक वायु रक्षा प्रणाली नष्ट गरिएको छ,” भारतको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
भारतले मे ७ मा ‘अपरेसन सिन्दूर’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको बताएको थियो ।भारतीय रक्षा मन्त्रालयले बिहीबार भारतीय सैन्य प्रतिष्ठानहरूमा हुने कुनै पनि आक्रमणको उचित जवाफ दिने जनाएको छ ।
पाकिस्तानले जम्मू कश्मीरको कुपवाडा, बारामुल्ला, उरी, पुंछ, मेन्धर र राजौरी सेक्टरहरूका नियन्त्रण रेखामा मोर्टार र तोप प्रयोग गरी गोलाबारी गरेको भारतको रक्षा मन्त्रालयले बताएको छ ।
पाकिस्तानले गरेको गोलाबारीमा तीन महिला र पाँच बालबालिकासहित १६ निर्दोष व्यक्तिको मृत्यु भएको जानकारी भारतको रक्षा मन्त्रालयले दिएको छ ।
अर्कोतर्फ, पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानका अनुसार, यी ड्रोनहरू पाकिस्तानका विभिन्न सहरहरूमा खसालिएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार एक पत्रकार सम्मेलनमा भारतले मे ७ को रातदेखि ‘ड्रोनको सहयोगमा घुसपैठ गर्ने प्रयास’ गरिरहेको बताए ।
जनरल चौधरीले सेनाको कारबाही जारी रहेको बताए । उनले लाहोर, गुजरनवाला, चकवाल, अटक, रावलपिंडी, मियाँवाली र कराँचीमा ड्रोन नष्ट गरिएको जनाए ।
पाकिस्तानी सेनाको प्रवक्ताको भनाइमा भारतले कुनै टिप्पणी गरेको छैन । पाकिस्तानले गरेको दाबीलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेन ।