गायक तथा सङ्गीतकार गणेश रसिकको निधन

  डेटूडे खबर डेस्क
  १८ जेठ २०८२

                            

काठमाण्डाैँ ।  साहित्यकार, गायक एवम् सङ्गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनकाे आज बिहान साढे ११ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् । उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।

रसिकले बीए सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निर्वाह गरे ।

रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरे ।

नेपाली गीत सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक । जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूल चरित्र हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट