जातीय छुवाछूत र विभेदविरुद्ध एकजुट हुनुपर्छ : राष्ट्रपति पौडेल

  डेटूडे खबर डेस्क
  २१ जेठ २०८२

                            

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत र विभेदविरुद्ध दृढतापूर्वक लाग्नुपर्ने बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यो कुरा बताएका हुन्।

यस अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेदलाई सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भनेका छन्।

सन्देशमा उनले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जातजाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना बढाएर समतासहितको राष्ट्रिय एकतालाई बलियो बनाउन र जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक लाग्दै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिएका छन्।

छुवाछूत र विभेदविरुद्ध लाग्न राष्ट्रपतिले सबै व्यक्ति, परिवार, समाज, तीन तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र सञ्चारकर्मीलाई थप संवेदनशील हुन आह्वान गरेका छन्।

‘नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ,’ सन्देशमा भनिएको छ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र जातीय आधारमा हुने सबै प्रकारका विभेद र उत्पीडनको क्रमशः अन्त्यका लागि महत्वपूर्ण आधार निर्माण गर्न सम्बन्धित निकायहरूलाई प्रेरणा दिने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन्।

सोच, शैली, प्रथा र सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याएर आपसी एकता, मेलमिलाप र सद्भाव बढाएर जातीय भेदभाव र छुवाछूतलाई कम गर्न सकिने विचार व्यक्त गर्दै राष्ट्रपति पौडेलले यो दिवसले सुसंस्कृत र छुवाछूतमुक्त समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

विसं २०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट