डेटूडे खबर डेस्क
२९ जेठ २०८२
जनकपुरधाम । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।
यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको र त्यो प्रक्रिया सर्ने क्रममा छ ।
‘हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । अब छिट्टै एक हप्ताभित्र नै नेपालमा मनसुन सक्रिय हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘मनसुनी वायु कोशी प्रदेशसम्म मात्रै छ । तर, मनसुन आउनका लागि अनुकूल वातावरण बन्दैछ । अब एक हप्तासम्म मनसुन प्रोगेसको अवस्था देखिन्छ ।’
केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना रहेकाे छ । यस वर्ष देशभर बर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् ।
‘यसवर्ष १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको थियो । हामीले बुधबार बिहीबारबाट पानी गर्ने गतिविधि हुन्छ भनेर भनेका थियौं,’ कँडेलले भनिन्, ‘सोही अनुसार देशव्यापी रुपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएका छन् । आगामी दिनमा पनि वर्षाका गतिविधि वृद्धि हुँदै जाने क्रम देखिन्छ ।’