मधेशको बजेटमा भएको त्रुुटी मिलाउन कार्यदल गठन

डेटूडे खबर डेस्क
२६ आषाढ़ २०८२
जनकपुरधाम । मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा विचौलिया हावी भएको भन्दै प्रतिपक्षी दलले निरन्तर संसद अवरुद्ध गरेपछि सरकार कार्यदल गठन गर्न तयार भएको छ। आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यदल गठन गरेर बजेटमा देखिएको समस्या समाधान गर्न सभामुख रामचन्द्र मण्डललाई आग्रह गरे । लगत्तै सभामुख मण्डलले आफ्नै नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको सदनलाई जानकारी गराए ।
उनका अनुसार कार्यदलमा रामअशिष यादव, जवाहर लाल कुशवाहा, कनिश पटेल, सरोज कुमार यादव र कृष्णा यादवलाई राखिएको छ । नेकपा एमाले संसदीय दलका नेता सरोज भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनलाई कार्यदलमा राखिएपछि जसपा नेपालले आपत्ति जनाएको छ । जसपा नेपालका रामअशिष यादवले बजेटमा सरकारद्वारा गडबड भएको भन्दै सरकार पक्षलाई कार्यदलमा राख्न नहुने बताए ।
उनले भने, ‘बजेट सुधार, परिमार्जन वा पुर्नलेखन गर्न सत्तापक्ष र प्रतिपक्ष रहनेगरी कार्यदल गठनको सहमती भएको थियो । तर अहिलेको कार्यदलमा सरकार पक्षलाई समेत राखियो । सदनमा सत्तापक्ष र प्रतिपक्ष मात्र हुन्छ । सरकार मधेश भवनमा छ ।’ उनले कार्यदलमा आपत्ति जनाएपछि मुख्यमन्त्री सिंहले प्रतिवाद गरे । उनले सहमती अनुसार नै कार्यदल गठन भएको र अहिले सहमती तोड्ने प्रयास भएको गुनासो गरे । बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच बादविवाद हुने अवस्था देखेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।