जसपा नेपालले बृहत् अन्तरक्रिया गर्दै

डेटूडे खबर डेस्क
२६ आषाढ़ २०८२
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले देशव्यापी उत्पीडित र अल्पसंख्यक समुदायलाई समेटेर हालै गठन गरेको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।
यही शनिबार दिउँसो बाह्र बजे डिल्लीबजारमा जसपा नेपालनिकट डोटिम परिसंघले देशका सबै सीमान्तकृत, अल्पसंख्यक, उत्पीडित समुदायको सहभागितामा बृहत् अन्तरक्रिया गर्न लागेको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।
प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त अन्तरक्रियाको उद्घाटन गर्ने कार्यक्रम छ । दलित, पिछडावर्ग, थारु, आदिवासी, मुस्लिम अल्पसंख्यक गरी सबै उत्पीडित समुदायलाई समेटेर गठन गरिएको केन्द्रीय परिसंघको प्रत्येक क्लष्टरबाट एक–एक जना वक्ता रहेका छन् ।
उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहने जनाइएको छ ।
जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्ति, आर्थिक, सामाजिक–साँस्कृतिक भेद्भाव, असमानता र उपेक्षाको अन्त्यका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रीय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियाको आयोजना गरिएको बताइएको छ ।