उच्च अदालत जनकपुरधाममा ६६.०५ प्रतिशत मुद्दा फर्छ्यौट

डेटूडे खबर डेस्क
०१ श्रावण २०८२
जनकपुरधाम । उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८१/०८२ मा नयाँ तथा पुरानो गरेर ६ हजार ६ सय ७८ मुद्दा रहेकोमा त्यस मध्ये ४ हजार ४ सय ११ मुद्दाको फर्छ्यौट भएको छ । जून कूल मुद्दाको ६६.०५ प्रतिशत रहेको उच्च अदालत जनकपुरधामका कामु मुख्यन्यायाधिश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
उच्च अदालत जनकपुरमा जिम्मेवारी सरेर आएका २ हजार १ सय ३७ र नयाँ परेका ४ हजार ५ सय ४२ गरेर ६ हजार ६ सय ७८ मुद्दा गत आर्थिक वर्षमा दर्ता रहेका थिए । त्यसमध्ये फर्छ्यौट भएका बाहेक २ हजार २ सय ६७ मुद्दा अहिले अदालतमा किनारा हुन बाँकी नै रहेको अदालतले जनाएको छ ।
उच्च अदालत जनकपुरको शुरुको क्षेत्राधिकार अन्तर्गतको जिम्मेवारी सरेर आएको र नयाँ गरेर २ सय २८ मुद्दा रहेकोमा १ सय ५१ वटा फर्छ्यौट भएको छ भने ७७ वटा बाँकी रहेको छ । पुनरावेदन दुनियाँवादी देवानी मुद्दाको सङ्ख्या १ हजार ८ सय ६५ रहेकोमा १ हजार १ सय ३७ वटा फर्छ्यौट भएको छ ।
यसैगरी पुनरावेदन दुनियाँवादी फौजदारी मुद्दा पुराना र नयाँ गरेर ४ सय ४५ रहेकोमा २ सय १५ वटाको फर्छ्यौट भएर २ सय ३० वटा अझै बाँकी रहेको उच्च अदालत जनकपुरले जनाएको छ ।
पुनरावेदन सरकारवादी फौजदारी पुराना तथा नयाँ गरेर १ हजार ६ सय ७ रहेकोमा १ हजार ३ वटा फर्छ्यौट भएको छ भने ६ सय ४ वटा बाँकी रहेको छ । यसका साथै संविधानको धारा १४४ अन्तर्गतको बन्दी प्रत्यक्षीकरणको २५, परमादेशका ४ सय ६, उत्प्रेषणका १ सय ९५, प्रतिषेधका ३३ र अधिकारपृच्छाका ७ वटा मुद्दाको फर्छ्यौट गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उपाध्यायले जानकारी दिए ।
उच्च अदालत जनकपुरमा विगत ६ महिना यता न्यायाधीशको अभावले ४ वटा इजलास मात्र सञ्चालन रहेका कारणले लक्ष्य अनुसारको सफलता नमिले पनि १८ महिना पुरानो कुनै पनि मुद्दा नरहनुका साथै १ वर्ष नाघेको मुद्दाको सङ्ख्या १ सय १२ मात्र रहेको उच्च अदालत जनकपुरले जनाएको छ ।