जनकपुरको एक होटलमा १ युवकको हत्या आरोपित १ युवती पक्राउ

  डेटूडे खबर डेस्क
  ०५ श्रावण २०८२

                            

जनकपुरधाम । महोत्तरीका २८ वर्षीय विमलेश यादव ‘शनी’ को जनकपुरस्थित एक होटलमा भएको रहस्यमय हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई सार्वजनिक गरेको छ। धनुषा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी महोत्तरीको बलवा नगरपालिका–७ बनौटाकी २४ वर्षीया जुली झालाई पक्राउ गरेको जनाएको हो। झामाथि जनकपुरधामको होटल ‘एसपी एण्ड गेष्ट हाउस’मा यादवको हत्या गरेको आरोप लागेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, शनिबार राति ९ः५५ बजे विमलेश यादव र जुली झा सँगै होटल प्रवेश गरेका थिए। त्यसको करिब पाँच घण्टापछि, अर्थात् आइतबार बिहान २ः५७ बजे यादव होटलको पहिलो तलाबाट नग्न र रक्ताम्य अवस्थामा भुइँमा खसेका थिए। यो नाटकीय घटनापछि जुली झा तत्कालै तल झरेर होटलबाट भागेको दृश्य होटलको सीसीटिभी फुटेजमा स्पष्ट देखिएको प्रहरीले बताएको छ।

गम्भीर घाइते अवस्थामा रहेका यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। तर, उपचारका क्रममा आइतबार बिहान ७ः४५ बजे उनको दुःखद निधन भयो। प्रहरीले घटनास्थलबाट रगत लतपतिएको कपडा, एउटा छुरा र अन्य केही महत्वपूर्ण सामग्रीहरू बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानकै आधारमा प्रहरीले जुली झालाई आइतबार दिउँसो पक्राउ गरेको हो।

यस घटनाबारे थप अनुसन्धान भइरहेको र छिट्टै सत्यतथ्य बाहिर ल्याइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट