महोत्तरीको गौशाला बजारमा झडप वडाध्यक्षसहित ५ जना घाइते

डेटूडे खबर डेस्क
०५ श्रावण २०८२
बर्दीबास । महोत्तरीको प्रसिद्ध व्यापारिक केन्द्र गौशालामा गोरु बजारको ठेक्का विषयलाई लिएर झगडा हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् ।
विवादका कारण सोमबारे चौपाया बजार सुनसान देखिएको छ भने विवादित क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरीका अनुसार दुई पक्षिय कुटपीटमा गौशाला नपा–२ का वडाध्यक्ष श्यामसुन्दर मण्डल, सोही वडाका ३५ वर्षीय विजय यादव, गौशाला–४ का ३२ वर्षीय विपिन साह र सुनिल साह घाइते भएका छन् ।
टाउकोमा गहिरो चोटपटक लागेको उनिलाई प्राथमिक उपचारपछि बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ ।
हातमा चोट लागेको वडा नं. २ का ४२ वर्षीय सुरेन्द्र महतोको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचार चलिरहेको छ । जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी शैलेन्द्र भट्टल सबै घाइतेको अवस्था मध्यम रहेको बताए।
गौशाला बजारका केही चौपाया व्यापारीका अनुसार विवादित गोरु बजार राणा कालदेखि नै श्री निगौल गाई गौशाला मातहतको एक बिघा जग्गामा लाग्दै आएको छ ।
२०७१ सालमा सात दलिय संयन्त्रले चौपाया बजारको ठेक्काबाट उठेको रकममध्ये प्रतिवर्ष २५ प्रतिशत जग्गाधनी श्री निगौला गाई गौशालालाई दिने लिखित निणर्य भएको थियो ।
तर निर्णय लत्याउँदै नगरपालिकाले २५ प्रतिशत रकम नदिएको गाई गौशालाको आरोप छ । रकम नदिए पनि गोरु बजारको ठेक्का भने नगरपालिकाले लगाउँदै आएकोले विवाद भएको हो ।
चालु वर्ष २०८२/८३ का लागि पनि नगरपालिकाले आफुखुसी गौशाला–४ का श्रवण महतोलाई गोरु बजार ठेक्का लगाएपछि गाई गौशालाको असहमति रहेको छ ।