दनौलीको दुधमति तटमा दुधेश्वरनाथ महादेवको प्राण प्रतिष्ठा

डेटूडे खबर डेस्क
१४ श्रावण २०८२
महोत्तरी । धार्मिक विधिपूर्वक दुधेश्वरनाथ महादेवको शिवलिंग स्थापना एवं प्राण प्रतिष्ठा सम्पन्न भएको छ ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं. ७ दनौली दुधमती नदी तटमा नव निर्मित श्री दूधेश्वरनाथ महादेव मन्दिरमा धार्मिक विधिपूर्वक शिवलिङ्ग स्थापना एवं प्राण प्रतिष्ठा गरिएको छ ।
चार दिवसीय धार्मिक तथा पवित्र अनुष्ठान अन्तर्गत पहिलो दिन शनिवार भब्यरुपमा विशाल शान्ति शोभा यात्रा हजारौ शिव भक्तहरुको उपस्थितीमा ५ सय ५१ शिव भक्तहरुले कलश लिएर पवित्र दुधमतीबाट जल भरी विधिवत रुपमा मन्दिरमा कलश स्थापना गरेका थिए ।
त्यस्तै दाश्रो दिन आइतबार शिव परिवारको पूजन, शिव परिवार जलाधिवास, विभिन्न अन्नवास लगायत विभिन्न वस्तुहरुमा शिव परिवारलाई बास गराइएको थियो भने सोही दिन नगर परिक्रमा (दनौली नगर परिक्रमा-जनकपुरधाम २४ बसहिया अवस्थित महादेव मन्दिर) सम्म परिक्रमा गराइएको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष जयराम चौधरीले जानकारी दिए ।
नगर परिक्रमामा हजारौ शिव भक्तहरुले बोलबमको नारा लगाइ, नाच गान गरी, शिवपरिवारको जयजयकार गरी नगर परिक्रमा सम्पन्न भएको र नगर परिक्रमा समापन पश्चात शिव परिवारलाई विश्राम गराइ सो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।
तेश्रो दिन सोमबार पूजन पाठ गरी शिवलिंग स्थापना, शिव परिवार स्थापना, रुद्राभिषेक, जप, हवन यज्ञ गरी सन्ध्या आरती गरि शिव परिवारको आराधनामा २४ घण्टे अष्टजाम कार्यक्रम भएको छ ।
चौथौ दिन मंगलबार २४ घण्टे अष्टजाम समापन पश्चात सन्यासी, साधु सन्तहरुलाई भोजन गराइ, भारतबाट आएका कालाकारहरुले शिव विवाह कार्यक्रमको प्रस्तुती समेत गरेको चौधरीले बताए ।
मन्दिरको भौतिक संरचना मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब ६० लाख रुपियाको लागतमा सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार सुशिल कुमार मण्डलले जानकारी गराए ।