मधेशमा संकटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

  डेटूडे खबर डेस्क
  १५ श्रावण २०८२

                            

धनुषा ।   मुलुकको अन्न भण्डारका रूपमा परिचित तराई-मधेश अहिले सुक्खाग्रस्तको संकटबाट गुज्रिरहेको छ । पर्याप्त मात्रामा अकासेपानी नपरेपछि मधेशका कतिपय जिल्लामा रोपाइँ हुन सकिरहेको छैन ।

रोपाइँ भएका ठाउँमा पनि अत्यधिक चर्काे गर्मीले रोपो जोगाउन समेत यहाँका कृषकलाई धौधौ परिरहेको छ । अर्काेतर्फ रोपिएका खेत मनै दुख्ने गरी धाँजा फाटेका दृश्यले कृषकहरूको मन कुँदिदै आइरहेको दृश्य पनि सामाजिक सञ्जालमा यत्रतत्र देखिँदै आइरहेका छन् । 

मधेश प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादवले अघिल्लो वर्षमा साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा ८३ प्रतिशतभन्दा धेरै धान रोपाइँ हुने गरे पनि यो वर्ष भने गत शुक्रबारसम्म ५१ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको बताए । 'अहिले तराई-मधेशमा सुक्खायामका कारणले धान रोपाइँ निकै प्रभावित भइरहेको छ । कतिपय ठाउँमा धानका रोपो सुकेर हेर्नै नसक्ने अवस्थाबाट गुज्रिरहेका छन्,' उनले भने, 'धानको खेत अहिले धाँजा फाटेर रोपो सुकिरहेको दृश्य देखिएको छ । यस्तो खालको संकटले समग्रमा तराई-मधेशमा धान उत्पादनमा समेत ठूलो असर पार्ने देखिन्छ ।'

निर्देशनालयका अनुसार मधेश प्रदेशमा आठ जिल्लामा धान रोपाइँ हुने तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये हालसम्म भने ५१ अर्थात् एक लाख ९३ हजार ११६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत यादवले रोपाइँ भएका कतिपय ठाउँका खेत सुकेर धाँजा फाटेको बताए । 'धान रोपाइँ भइसकेका खेतमा पनि धाँजा फाट्ने क्रम जारी छ,' उनले भने, 'मधेश प्रदेशमा सिँचाइको चर्काे अभावले पनि दीर्घकालीन खालको सिँचाइको आवश्यकता देखिएको छ ।'  

निर्देशनालयका अनुसार धनुषामा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ३५ प्रतिशत, महोत्तरीमा ३५ दशमलव १२, सर्लाहीमा ५६, रौतहटमा ६८ र बारा जिल्लामा भने ८० प्रतिशत धान रोपाइँ भएको छ । वरिष्ठ बागवानी विकास अधिकृत यादवले तराई-मधेशका खेतहरू धाँजा फाट्न थालेसँगै मधेश प्रदेशकै लागि लक्षित गरेर निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अपरिहार्यता र औचित्य झनै बढेको बताउँछन् । 'तराई-मधेशका पाँच जिल्लालाई सिँचाइ गर्ने योजनासहित अघि सारिएको आयोजनाको आवश्यकता झनै बढिरहेको छ,' उनले भने, 'तराई-मधेशका पाँच जिल्लामा देखिएको सिँचाइको समस्यालाई सो आयोजनाले परिपूर्ति गर्ने विश्वास लिएका छौँ । तर, अहिलेसम्म पनि सो आयोजना निर्माणको गति भने सुस्त रहेको सुन्नमा आएको छ ।' 

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी पनि तराई-मधेशमा सुक्खाग्रस्त भएसँगै सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अपरिहार्यता झनै बढेको बताए । 'तराई-मधेशमा विगत तीन वर्षदेखि वर्षायाममा पनि पर्याप्त अकासेपानी पर्न सकिरहेको छैन,' उनले भने, 'सुनकोशी मरिण डाइभर्सन आयोजना सञ्चालन भएर आएको खण्डमा धेरै हदसम्म सहज र व्यवस्थित हुने थियो  ।' प्रजिअ  अधिकारीले तराई-मधेशका पाँच जिल्लाको सिँचाइको दीर्घकालीन समाधान गर्ने भएकाले पनि सुनकोशी मरिण आयोजना निर्माणमा ढिलासुस्ती गर्न नहुने बताए ।

सरकारले २०७३-७४ सालमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामार्फत तराई-मधेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारासहितको पाँच जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने प्रमुख उद्देश्यसहित आयोजना अघि सारेको थियो । सो आयोजनाअन्तर्गत कमलामाई-२ कुसुमटारदेखि सुनकोशी-७ कानढुङ्गीसम्म १३ दशमलव तीन किलोमिटर सुरुङ तयार पारेर पावर हाउसको टेलरेसबाट निस्केको ६७ हजार प्रतिसेकेन्ड पानी मरिण नदीमा खसाली वाग्मती नदी हुँदै मधेशका पाँच जिल्लामा सिँचाइ सुविधा अघि बढाउनेगरी योजना अघि बढाएको थियो । कृषकका खेत-खेतमा सिँचाइ भने वाग्मती सिँचाइ आयोजनामार्फत अघि बढाइनेछ ।

सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण र बाँध निर्माणका लागि छुट्टाछुटै बोलपत्र आह्वान गरिएको थियो । सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाका निर्देशक बद्री कार्कीले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको काम निकै सुस्त गतिमा भइरहेको बताए । 'आयोजनाको सुरुङ निर्माणसम्पन्न भएको पनि १५ महिना बितिसक्यो । तर, बाँध निर्माणको काम भने धिमा गतिमा चलिरहेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र आलटालका कारणले बाँध निर्माणको कार्यले गति लिन सकिरहेको छैन ।' उनले भने, 'अहिलेकै गतिको निर्माणले यो आयोजना सम्पन्न गर्न वर्षाैं लाग्न सक्छ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट