चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

  डेटूडे खबर डेस्क
  ०७ असोज २०८२

                            

वीरगञ्ज । पर्सामा अवैध चोरी पैठारी र निकासी नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

चालू आर्थिक वर्षको दुई महिना बित्दा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन। भन्सार विभागले कार्यालयलाई चालू आवको दुई महिनामा ४३ अर्ब तीन करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो।

कार्यालयले लक्ष्यको ९०.९९ प्रतिशत अर्थात् ३९ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले चोरी तस्करी नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताए। पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले बिलबीजक बिना मालवस्तु ओसार्ने प्रवृत्ति देखिएको बताए।

“भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न फार्म दर्ता गरी त्यहीमार्फत तस्करी गर्ने पनि विभिन्न समयमा भेट्टिएको छ”‚ उनले भने, “नेपाल-भारतका नागरिक–एउटाले तस्करीका सामान ओसार्ने र त्यसलाई वैधता दिन बिल मात्र किन्ने, बिलको किनबेच खालका पनि गतिविधि बेलाबखतमा देखिएको छ।”

पर्साको सहरी र ग्रामीण क्षेत्रमा चाडपर्व लक्षित तथा जेनजीको प्रदर्शनका अवधिमा पनि केही स्थानमा चोरी तस्करी भएको गुनासो आएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जेनजी प्रदर्शनका क्रममा बजार केन्द्रित सुरक्षा दिएकामा त्यसपछि ग्रामीण क्षेत्रमा सुरक्षा केन्द्रित गरिएको बताए।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका गणपति पुरनचन्द्र भट्टले ग्रामीण क्षेत्रमा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि रातको समयमा पनि गस्ती बढाउँदै आइरहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट