राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता
डेटूडे खबर डेस्क
२० कार्तिक २०८२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका छन्।
उनी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार गएका थिए। उनलाई त्यहाँस्थित हमाद अन्ताराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवम् नेपाली दूतावासका उच्च अधिकारीले बिदाइ गरेको उनको सचिवालयले जनाएको छ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका थिए। उनले ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मंगलबार सम्बोधन गरे।
उनले सम्मेलनअन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गरेका थिए। राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए।
