अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व आज मनाइँदै
डेटूडे खबर डेस्क
१० चैत्र २०८२
जनकपुरधाम । जनकपुरधाम सहित मिथिलाञ्चल क्षेत्रमा लोकआस्था र सूर्य उपासनाको महान् पर्व चैती छठ पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आइतबार चतुर्थी तिथिदेखि सुरु भएको यस पर्वअन्तर्गत दोस्रो दिन सोमबार “खरना” विधि सम्पन्न गरिएको थियो। उक्त दिन व्रतालुहरूले उपवास बस्दै कुलदेवता, सूर्य देवता र छठी मातालाई पूजा निम्तो दिएका थिए। आज षष्ठी तिथिमा पर्वको मुख्य अनुष्ठान अन्तर्गत सन्ध्याकालीन अर्घ दिइँदैछ। गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटिएर बनाइएको पीठोबाट विभिन्न परिकारसहितका ठकुवा, खजुरिया, पेरुकिया जस्ता पकवान तथा फलफूल, मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य सहित भजन–कीर्तन गर्दै घाटसम्म जाने गर्दछन्। व्रतालुहरू पानीमा उभिएर सूर्य अस्ताउँदासम्म आराधना गर्दै अर्घ अर्पण गर्ने परम्परा रहेको छ।
अन्तिम दिन भाेली बुधबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।
छठ पर्वको अवसरमा जनकपुरधामकाे गंगासागर, धनुषसागर लगायतका प्रसिद्ध तलाउहरुमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
