स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
डेटूडे खबर डेस्क
२१ चैत्र २०८२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकसहितका सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई हालै एक पत्र जारी गर्दै सरोकारवाला पक्षसँग गएको कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।
उक्त सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।
