पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा सर्वोच्च पुग्यो अख्तियार

  डेटूडे खबर डेस्क
  २४ चैत्र २०८२

                            

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानास्थल निर्माण भ्रष्टाचार प्रकरणमा विशेष अदालतको धरौटी आदेशमा असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । उक्त प्रकरणमा संलग्न निर्माण कम्पनी चाइना सीएमसी इन्जिनियरिङका प्रतिनिधिलगायतलाई थुनामै राखेर पुर्पक्ष गर्न मागसहित अख्तियारले मंगलबार (चैत २४) निवेदन दिएको हो । अख्तियारले आरोपितहरूलाई साधारण तारिख र न्यून धरौटीमा छाडिएको भन्दै बदर गरी थुनामा राख्न माग गरेको छ ।

मुख्य आरोपितमध्ये निर्माण कम्पनी चाइना सीएमसी इन्जिनियरिङका प्रतिनिधि रबिन रिजाललाई २५ लाख रुपैयाँ, प्रतिवादी रतीशचन्द्र लाल सुमनलाई ५ लाख र भीमप्रसाद आचार्यलाई २ लाख ५० हजार रुपैयाँ न्यून धरौटीमा छाडिएको भन्दै अख्तियारले आदेश उल्ट्याएर थुनामा राख्न माग गरेको छ । साधारण तारिखमा छाडिएका प्रतिवादीहरू डा. पुण्यराज शाक्य, हरिबहादुर खड्का र रोशन चित्रकारलाई पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग छ ।

उनीहरूलाई सजायका लागि गत मंसिर २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा मुद्दा दायर भएको थियो । भ्रष्टाचार कसुरमा संलग्नहरूलाई बाहिरै राख्दा प्रमाण नष्ट हुन सक्ने र प्रतिवादी भागिजान सक्ने अवस्थासमेत अख्तियारले दर्शाएको छ । साधारण तारिख र न्यून धरौटीमा छाड्ने आदेश ‘बेरितको’ रहेको प्रश्न अख्तियारले उठाएको छ ।

विमानास्थल निर्माणका क्रममा लागत अनुमान अस्वाभाविक रूपमा बढाएर ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ हानीनोक्सानी पुर्‍याएको दाबी अख्तियारको छ । उक्त हानीको विगो अमेरिकी डलरमा ७ करोड ४३ लाख हुन आउँछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन पदाधिकारी र निर्माण व्यवसायीको मिलेमतोमा लागत इस्टिमेटलाई बढाएर २४ करोड ४० लाख डलर पुर्‍याउँदै राज्यलाई ठूलो नोक्सानी पुर्‍याइएको अभियोग दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट