मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक छु : प्रधानमन्त्री शाह
डेटूडे खबर डेस्क
२५ चैत्र २०८२
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेट गर्न पुगेका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
“नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भने, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”
