प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने
डेटूडे खबर डेस्क
१८ जेठ २०८३
काठमाण्डाैँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
प्रतिनिधिसभा बैठक शुरू हुनेबित्तिकै बोलेका कांग्रेस सचेतक निश्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलको नेता ज्ञानेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीका आर्यन राईलगायतले प्रधानमन्त्रीले कि तथ्य पेश गर्नुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने अपील गरेका हुन् ।
सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झन्डै ३ करोड नेपालीको शिर निहुरिएको बताएका छन् । यदि प्रधानमन्त्रीले सत्य बोलेका भए कहाँ–कहाँ नेपालले भारतको भूमि मिचेको भन्ने तथ्य आफूहरूलाई चाहिएको बताएका छन् ।
त्यसअघि आजै बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिनुभएको अभिव्यक्तिलाई लिएर आज संसद् अवरोध गर्ने निष्कर्ष निकालेको थियो । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेससहित एमाले, नेकपा र राप्रपाको सहभागिता रहेकाे थियो ।
